२६ असार देखि एकीकृत प्रवेश परीक्षा शुरु गर्ने चिकित्सा शिक्षा आयोगको प्रस्ताव

गत सोमबार चिकित्सा शिक्षा शास्त्र तर्फ स्नातक तहका विभिन्न विषयको अध्ययनका लागि कलेजहरुलाई सिट निर्धारण गरेको चिकित्सा शिक्षा आयोगले आगामी २६ असार देखि एकीकृत प्रवेश परीक्षाका गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले सो मितिमा परीक्षा सञ्चालन गर्नका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)संग अनुमति मागेको छ ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले कोभिड १९ को दोस्रो लहर बढदै जाँदा स्नातक तहको भर्ना प्रक्रियामा केही ढिलाई भईसकेको भन्दै संक्रमण घट्दै जाँदा भर्ना प्रक्रियालाई तिब्रता दिन लागिएको बताए । ‘हामीले २६ असार देखि ५ दिनसम्म विभिन्न विषयको प्रवेश परीक्षा लिने योजना बनाएका छौँ । त्यसका लागि सीसीएमसीसंग अनुमति मागेका छौँ । सीसीएमसीले के भन्छ त्यसपछि त्यसपछि मात्रै अन्तिम टुंगो लाग्नेछ,’ उनले भने ।

पछिल्लो समय आयोगले एकीकृत प्रवेश परीक्षा लिने र छनौट भएका विद्यार्थीहरुलाई प्राप्तांकको आधारमा विभिन्न कलेज रोज्न लगाई भर्नाका लागि सिफारिस गर्ने गरेको छ । यसपटक स्नातक तहका विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षाका लागि फारम भरेको समेत जानकारी दिए । त्यसमा सबैभन्दा बढी अर्थात करीव ११ हजार ३०० जनाले एमबीबीएसमा फारम भरेका छन् ।

प्रवक्ता लुईटेलले आफूहरुले परीक्षा हुनुभन्दा १५ दिन अघि नै सूचना जारी गर्नु पर्ने भएकोले सीसीएमसीले असारको ८ – ९ गते तिर नै जानकारी दिने बताए ।

आयोगले संक्रमणदर घटेको अवस्थामा काठमाडौँं उपत्यकामा सेन्टर तोक्ने र स्वास्थ्यका मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने प्रस्ताव राखेको छ ।

(Source: nepalihealth)

Leave a Reply